गतिशीलका संघर्षशील उम्मेदवारहरू
मङ्लबार, माघ ७, २०८२
गतिशीलका संघर्षशील उम्मेदवारहरू

यही पुष १४ गते गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को समानुपातिकतर्फका आफ्ना उम्मेदवारहरूको सूची बुझाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमका मापदण्डहरू पूरा गरी पार्टीले ११ जनाको सूची आयोगमा बुझाएको हो । उक्त सूचीमा आदिवासी जनजाति, दलित, मधेशी, मुश्लिम, थारु, अपाङ्गता भएका व्यक्ति, खस आर्य समूहका विभिन्न पेशा व्यवसायमा रहेका संघर्षशील व्यक्तिहरू समावेश गरिएको छ । उम्मेदवारहरूको सूची तथा उनीहरूको छोटो परिचय यसै विज्ञप्ति साथ संलग्न गरिएको छ ।

गतिशील लोकतान्त्रिक पार्टीले यस निर्वाचनका लागि पार्टीको चिह्न ब्याट्री राखेको छ ।

संघर्षशील उम्मेदवारको छोटो परिचय:

गीता केसी दर्नाल
३७ वर्षीया गीता केसी दर्नालले त्रिभुवन विश्वविद्यालयबाट सामाजिक सेवा विषयमा स्नातकोत्तर गर्नुभएको छ।
विगत दुई दशकदेखि सामाजिक कामहरूमा सक्रिय गीता हाल ‘साझा सहयात्री नेपाल’ नामक संस्था सञ्चालन गरिरहनु भएको छ जसले यौन हिंसामा परेका बालिकाहरूको न्याय र सुरक्षित भविष्य निर्माणको लागि काम गर्दछ।
उहाँ सामाजिक न्यायको प्रखर वकालतकर्ता हुनुहुन्छ र विशेष गरी अन्याय र हिंसामा परेका महिला र बालिकाहरूका लागि निरन्तर काम गर्दै आउनुभएको छ।

निशा राजवंशी
२७ वर्षीया निशा राजवंशीले पब्लिक हेल्थमा स्नातक गर्नुभएको छ र हाल स्वास्थ्य क्षेत्रमै काम गरिरहनु भएको छ।
मोरङमा जन्मिनु भएकी निशाले राजवंशी र अन्य सीमान्तकृत समुदायले भोग्नुपरेका समस्याहरू लाई प्रत्यक्ष रूपमा नियाल्दै गर्दा ती समुदायको उत्थानको लागि संसद मार्फत नीतिगत पहल गर्न चाहनुहुन्छ।

नग्मा खरेल
काठमान्डौंकी ३६ वर्षीया नग्मा खरेलले ग्रामीण विकासमा स्नातकोत्तर तथा समाजशास्त्र र अङ्ग्रेजी साहित्यमा स्नातक गर्नुभएको छ।
उहाँले विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध भएर भूकम्प, बाढी-पहिरो र कोभिडको समयमा राहत व्यवस्थापन, पीडितहरूको पुनर्स्थापना र स्वयंसेवक परिचालनको काम गर्नुभएको थियो। साथै उहाँ नेतृत्व विकास, जनसम्पर्क र रणनीति निर्माणमा पनि दखल राख्नुहुन्छ ।
हाल गतिशील लोकतान्त्रिक पार्टीकी सङ्घीय सदस्य नग्माले प्रधानमन्त्री कार्यालयमा सहायक अनुसन्धानकर्ता तथा श्री सत्य साइ सेवा सङ्गठन नेपालमा रहेर विभिन्न कार्यक्रमहरूको संयोजकको भूमिकामा काम गरिसक्नु भएको छ।

विश्वास प्रजा (चेपाङ)
चितवनमा जन्मिएका ३३ वर्षीय विश्वास प्रजा (चेपाङ) ले बेलायतको लिंकन विश्वविद्यालयबाट सामाजिक कार्य विधामा स्नातकोत्तर गर्नुभएको छ भने हाल काठमाडौँ विश्वविद्यालयमा विकास अध्ययन विधामा एमफील गर्दै हुनुहुन्छ।
विश्वास चेपाङले समुदायभित्र शिक्षा, आत्मनिर्भर अभियान, जीविकोपार्जनमा पहल, जैविक विविधता संरक्षण, अधिकारमा आधारित संरक्षण, आदिवासी ज्ञान, जलवायु परिवर्तन, बाल न्याय, युवालाई सीप, चेतना र सहभागिताका विषयमा आवाज उठाउने र अभियान मार्फत सक्रिय भूमिका खेल्दै आउनु भएको छ।
विश्वास गतिशील लोकतान्त्रिक पार्टीमा सङ्घीय सदस्य रही आदिवासी जनजाति सम्बन्धी अनुसन्धान, विकास र संकथनमा योगदान दिँदै हुनुहुन्छ। राजनीतिमा उहाँको प्रवेश चेपाङ समुदाय र सीमान्तकृत वर्गको आवाज नीति र निर्णय तहसम्म पुर्‍याउने उद्देश्य छ।

दिर्घ बहादुर खड्का
काभ्रेपलान्चोकमा जन्मिएका ४० वर्षीय दिर्घ बहादुर खड्काले मानविकी संकायमा प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ।
व्यावसायिक रूपमा कलाकार रहेका दिर्घले अपाङ्गता अधिकारको लागि पनि निरन्तर काम गर्दै आउनुभएको छ। विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारी सिर्जना, दृष्टिविहीनहरूको लागि ब्रेल तथा कम्प्युटर तालिम दिने कार्यहरूमा उल्लेख्य योगदान गर्दै आउनुभएको छ।
हाल उहाँ नेपाल अपाङ्ग सशक्तीकरण समाज र फूलबारी फाउन्डेसनको अध्यक्ष, काभ्रे नेत्रहीन संघको उपाध्यक्ष र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सचिवको रूपमा कार्यरत हुनुहुन्छ।

रेजिना गुरुङ नकर्मी
४९ वर्षीया रेजिना गुरुङ नकर्मी (चितवन) ले हाल आफ्नै घरमा लघु-उद्यम सञ्चालन गर्दै आउनुभएको छ र विशेष गरी गृहिणीहरूलाईबनाउन रोजगारी प्रदान गरी आत्मनिर्भर बन्न मद्दत गरिरहनु भएको छ।
उहाँ महिलाहरूलाई उद्यमशील नीतिगत रूपमै राज्यले पहल गर्नुपर्ने कुरामा जोड दिँदै सो क्षेत्रमा विशेष रूपले काम गर्ने उद्देश्यका साथ उम्मेदवारी दिनुभएको छ।

शैली चौधरी
पर्सामा जन्मिएकी ३१ वर्षीया शैली चौधरी वाणिज्यशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ र हाल मानव अधिकार कानून अध्ययन गर्दै हुनुहुन्छ।
उहाँ राष्ट्रिय तथा संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरू मार्फत महिला, दलित, LGBTIQ+ समुदायलगायत अन्य बहु-सीमान्तकृत समुदायहरूको उत्थानको लागि काम गरिरहनु भएको छ।
हाल गतिशील लोकतान्त्रिक पार्टीमा संघीय सदस्य रहेकी शैलीले दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको कार्यक्रम निर्देशक तथा संस्कृतिको सभापति रहेर काम गरिसक्नु भएको छ।

अनामिका चौधरी
४६ वर्षीया अनामिका चौधरी (सर्लाही) सि.एम.ए स्नातक हुनुहुन्छ भने उहाँ लामो समयदेखि उड्डयन क्षेत्रमा काम गरिरहनु भएको छ र हाल वरिष्ठ प्रशिक्षक (आगलागी, उद्धार र प्राथमिक उपचार) को रूपमा कार्यरत हुनुहुन्छ।
भूकम्प र अन्य प्राकृतिक विपत्तिका समयमा ग्रामीण क्षेत्रहरूमा विभिन्न सङ्घ-संस्थाहरु सँग आबद्ध भई स्वास्थ्य शिविर संचालन, विपद् व्यवस्थापन, पीडितहरूको पुनर्स्थापना लगायतका कामहरूमा अनुभव हासिल गरेकी अनामिकाले स्वास्थ्य तथा विपद् व्यवस्थापनको क्षेत्रमा नीतिगत हस्तक्षेप गर्ने उद्देश्यले उम्मेदवारी दिनुभएको छ।

रुबि खातुन
बाराकी रुबि खातुन, ५१, गृहिणी हुनुहुन्छ र हाल बारा उत्थान केन्द्र नामक संस्थासँग आबद्ध भएर असाक्षर गृहिणीहरूका लागि साक्षरता कार्यक्रम र सीपमूलक तालिमहरू संचालन गर्दै आउनुभएको छ।
मधेशी मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने रुबि खातुनले महिला तथा सीमान्तकृत समुदायमाथि हुने विभेदविरुद्ध र ती समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि राज्यले बलियो भूमिका निभाउनुपर्ने गरी नीतिगत पहल गर्ने उद्देश्यले उम्मेदवारी दिनुभएको छ।

Er. अल्का सापकोटा Ph.D
नवलपरासीमा जन्मिनु भएकी अल्का सापकोटा, पेशाले इन्जिनियर हुनुहुन्छ र उहाँले वातावरणीय इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएको छ।
उहाँले फोहर मैला व्यवस्थापन, सहरी पूर्वाधार विकाश, खानेपानी-सिँचाइ लगायतका क्षेत्रमा विज्ञका रूपमा काम गर्दै नीतिगत र व्यावहारिक दक्षता हासिल गर्नुभएको छ। साथै उहाँले भौतिक पूर्वाधारमा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएका असमान पहुँचलाई पनि नजिकबाट नियाल्नु भएको छ।
हाल गतिशील लोकतान्त्रिक पार्टीकी सङ्घीय सदस्य अल्काले फोहर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायहरू लगायतका विकाश साझेदारहरूमा पनि विज्ञका रूपमा काम गर्दै पारदर्शिता, जबाफदेहिता र परिणाम मुखी कार्यशैलीलाई व्यवहारमा उतार्नुभएको छ।

करुणा डुम्जन
जेन-जी उमेर समूहकी २७ वर्षीया करुणा डुम्जन (सुनसरी) वाणिज्यशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गर्दै हुनुहुन्छ। उहाँ हाल निजी क्षेत्रमा व्यवस्थापकीय भुमिकामा रहेर काम गर्दै हुनुहुन्छ।
विभिन्न संघ-संस्थाहरूमा आबद्ध भएर सामाजिक कामहरूमा सक्रिय करुणाले युवाहरूको लागि दिगो उद्यमशीलता र रोजगारी सिर्जना गर्नको लागि नीतिगत पहल गर्ने उद्देश्यले उम्मेदवारी दिनुभएको छ।

थप जानकारीका लागि:

विजय बाबु शिवाकोटी
सचिव, संघीय कार्य समिति सचिवालय
९७४३९६८२०३