१. एक व्यक्ति एक पद।
२. पार्टीका पदाधिकारीहरू (अध्यक्ष, महा/सचिवहरू र कोषाध्यक्ष) आम चुनावमा प्रतिस्पर्धा गर्न नपाउने ।
३. कुल सदर मत वा सांसदहरूको संख्याको २०% भन्दा कम आएमा कुनै तहको सरकारमा सहभागी नहुने ।
४. एक व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने ।
५. पार्टीलाई समयानुकूल नीति र नेतृत्वमार्फत गतिशील बनाइराख्न कुनै पनि व्यक्ति सोह्र वर्षभन्दा बढी पार्टीको सक्रिय सदस्य रहन नपाउने।
६. कुनै पनि किसिमका भातृ संगठन स्थापना नगर्ने।
७. संघीय र प्रादेशिक तहमा त्यहाँको सरकार र स्थानीय तहमा विभाग वा शाखा अनुरुपको छायाँ विभागहरूको व्यवस्था जसले नीतिनिर्माणसँगै छाया सरकारको पनि भूमिका खेल्दछ।
हामी प्रियतावादी (पपुलिस्ट) राजनीति गर्दैनौँ किनकि त्यो क्षणिक लोकप्रियता र भावनात्मक आवेगमा आधारित हुन्छ, दीर्घकालीन समाधानमा होइन। हामी सजिला नारा र असम्भव वाचाबाट जनतालाई भ्रमित गर्ने बाटो रोज्दैनौँ। कुनै एक व्यक्तिलाई नायक बनाएर राजनीति गर्नुको सट्टा हामी एजेन्डा, सुदृढ संगठन र स्पष्ट विचारलाई प्रधान मान्छौँ। नीति, तथ्य र विवेकमा आधारित निर्णय हाम्रो आधार हो। हामी कठिन तर आवश्यक निर्णयबाट भाग्दैनौँ। राज्यको स्रोत र भविष्यलाई दाउमा राखेर ताली कमाउने अभ्यास अस्वीकार गर्दै, जिम्मेवार नेतृत्व र संस्थागत सुधारमार्फत दिगो परिवर्तन ल्याउनु नै हाम्रो उद्देश्य हो।
पार्टी भ्रातृ संगठनमुक्त हुँदा लोकतन्त्र संस्थागत मूल्यमा आधारित हुन्छ। भ्रातृ संगठनले सिर्जना गर्ने गुटबन्दी, दबाब र स्वार्थ-राजनीति कमजोर हुँदा पार्टीभित्र विचार, नीति र कार्यसम्पादनका आधारमा प्रतिस्पर्धा सम्भव हुन्छ। राज्यका निकायहरूमा पार्टीको अनावश्यक हस्तक्षेप घट्दा संस्थागत स्वतन्त्रता बलियो हुन्छ। नागरिक समाज, विद्यार्थी, मजदुर र पेशागत समूहहरू स्वतन्त्र रूपमा संगठित हुन पाउँछन्, जसले सत्ताको आलोचना र निगरानीलाई प्रभावकारी बनाउँछ। यसरी भ्रातृ संगठनमुक्त पार्टी प्रणालीले लोकतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ, उत्तरदायी र विश्वासयोग्य बनाउँछ। हाम्रो पार्टीका सबै तहगत समितिहरुमा सोही तहका सरकारका मन्त्रालय / विभाग / महाशाखा अनुसारका छायाँ विभागहरु रहनेछन् जसले सरकारका कामकाजको निरन्तर अवलोकन र मुल्यांकन गर्नेछन र समयसापेक्ष नीतिनिर्माण गर्नेछन्। अन्य पार्टीमा जनवर्गीय/ भ्रातृ संगठनले गर्ने कामहरू हाम्रा विभागहरूले नै गर्नेछन्।
१. हामी पार्टीको आम्दानी, खर्च, चन्दा प्राप्ति र उपयोगसम्बन्धी सम्पूर्ण विवरण नियमित रूपमा पार्टीको वेबसाइटमा सार्वजनिक गर्छौँ। यसले गोप्य आर्थिक कारोबारको सम्भावना समाप्त गर्दै पार्टीलाई नागरिकको प्रत्यक्ष निगरानीमा राख्छ र पारदर्शिता, विश्वास तथा जवाफदेहिताको संस्कार बलियो बनाउँछ।
२. हाम्रो पार्टीमा एक व्यक्तिले आफ्नो वार्षिक आम्दानीको ५% भन्दा बढी चन्दा सहयोग गर्न पाउँदैन। यो व्यवस्थाले धनको असमान प्रभाव रोक्छ र पार्टी कुनै व्यक्ति वा समूहको कब्जामा नपरी आम नागरिकको प्रतिनिधि बन्ने कुरा सुनिश्चित गर्छ।