गतिशील लोकतान्त्रिक पार्टीले रूपन्देहीको भैरहवामा आयोजित एक विशेष समारोहका बीच आफ्नो महत्वाकांक्षी आर्थिक योजना ‘भिजन २०३५’ सार्वजनिक गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राङ्गण नजिकै गरिएको यो घोषणाले नेपालको पर्यटन र उड्डयन क्षेत्रमा व्यापक सुधारको सङ्केत गरेको छ। यस भिजनले आगामी १० वर्षभित्र नेपालमा ३० लाख उच्च पारिश्रमिक पाउने रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
यस योजनाको मुख्य खम्बा पर्यटन क्षेत्र हो, जसमा १० वर्षभित्र २१ खर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ। पार्टीले वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, जसले गर्दा देशको कुल ग्राहस्थ उत्पादन (GDP) मा पर्यटनको योगदान पाँच गुणाले बढ्नेछ। यसबाट सिर्जना हुने रोजगारीले वैदेशिक रोजगारीमा जाने युवाहरूको लर्कोलाई स्वदेशमै रोक्ने दाबी गरिएको छ।
उड्डयन क्षेत्रमा क्रान्ति ल्याउन ‘भिजन २०३५’ ले नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्दै ठूला जहाजको संख्या ५० वटा पुर्याउने लक्ष्य राखेको छ। सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा निगमलाई सञ्चालन गरी विश्वका प्रमुख सहरहरूसँग सिधा हवाई सम्पर्क जोड्ने योजना अघि सारिएको छ। यसले भैरहवा र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी नेपाललाई दक्षिण एसियाको उड्डयन हब बनाउने छ।
कृषि क्षेत्रको विकासका लागि पार्टीले किसानलाई उद्योगको मालिक बनाउने ‘कोदालोदेखि कारखानासम्म’ को नीति अघि सारेको छ। ७० अर्बको कृषि आयात प्रतिस्थापन गर्न र किसानको उत्पादनलाई सिधै बजारसँग जोड्न ‘सहकारी-उद्यम’ मोडल लागू गरिनेछ। यसले गर्दा किसानले आफ्नो उपजको मात्र नभई उद्योगबाट हुने नाफाको पनि हिस्सा पाउने सुनिश्चित गरिनेछ।
भैरहवाको यस कार्यक्रममा संघीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले यो भिजन कुनै सपना मात्र नभई कार्यान्वयन योग्य ‘बिजनेस प्लान’ भएको बताउनुभयो। उहाँले भन्नुभयो – “हामीले हवाईजहाज उडाए जसरी नै देशको अर्थतन्त्रलाई सही उचाइमा पुर्याउन सक्छौँ।” पार्टीले आगामी दिनमा जनकपुरमा कृषि र सुर्खेतमा शिक्षासम्बन्धी विशेष नीतिगत बहस सञ्चालन गर्ने कार्यतालिका समेत तय गरेको छ।