गतिशील लोकतान्त्रिक पार्टीको घोषणापत्र (विस्तृत)
मङ्लबार, माघ ७, २०८२
गतिशील लोकतान्त्रिक पार्टीको घोषणापत्र (विस्तृत)

हाम्रो पार्टीको सिद्धान्त “गतिशील मध्यमार्ग” हो। हाम्रो उद्देश्य सबै खाले चरमपन्थलाई अस्वीकार गर्दै व्यक्तिगत स्वतन्त्रता र सामाजिक–पर्यावरणीय न्यायलाई सन्तुलनमा राख्दै समावेशी, उत्पादनशील र न्यायपूर्ण समाज निर्माण गर्नु हो। न हामी अराजक पुँजीवादी हौँ, न संकीर्ण समाजवादी। हामी साम्यवादी होइनौँ, हामी पुरातनवादी पनि होइनौँ र लोकप्रियतामा रमाउने प्रियतावादी राजनीति हामी गर्दैनौँ। हामी समृद्ध समाजका लागि व्यक्ति, सरकार र बजारको सन्तुलित भूमिकामा विश्वास गर्छौँ।

हामी सार्वभौम राष्ट्र नेपालका सार्वभौम नेपाली नागरिकले वैधानिक रूपमा बनाएको र सञ्चालन गरेको संवैधानिक लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छौँ।
नेपाललाई समृद्ध, समतामूलक र स्वाभिमानी राष्ट्र बनाउने हाम्रो ध्येय हो। यसका लागि हामी सुशासन, उद्यमशीलता र दिगो रोजगारी सिर्जना गर्ने तर्फ अनवरत प्रयत्नशील रहनेछौँ।
योग्यतन्त्र (मेरिटोक्रेसी) र सामाजिक पुनर्जागरण गतिशील मध्यमार्गका आधार तत्त्व हुन्। आफ्नै देश र विश्वभरको अनुभव र हाम्रो आफ्नै आवश्यकताको आधारमा नेपाली समाजले उदारवादी र प्रगतिशील आदर्श–प्रेरित विचारको सृजनशील र व्यवहारिक उपयोग गर्नुपर्छ भन्ने हामी मान्छौँ।

राजनीतिको औपचारिक भाषामा हामी प्रगतिशील उदारवादी हौँ। आदर्श र व्यवहारिकताबीचको संवाद र समन्वय हाम्रो राजनीतिक संस्कृति हुनेछ। हामी अमूर्त काल्पनिक विश्वासको सट्टा तथ्य तथा ठोस प्रमाणका आधारमा समाज चलायमान हुनुपर्छ भन्ने अर्थमा प्रगतिशील हौँ। “जनताले गर्न सक्छन्” भन्ने मान्यता राख्ने, व्यक्तिगत स्वतन्त्रता र बालिग नागरिकको विवेकसम्मत चयनलाई सम्मान गर्नुपर्छ भन्ने अर्थमा हामी उदारवादी हौँ।
हामी समाज सधैँ परिवर्तनशील हुन्छ र हाम्रा नीति, कानून, संस्था र नेतृत्व पनि ती परिवर्तनलाई आत्मसात गर्ने, प्रतिनिधित्व गर्ने र सम्बोधन गर्न सक्ने हुनुपर्छ भन्ने मान्छौँ। हामी लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण संस्थाका रूपमा रहने राजनीतिक पार्टी गतिशील हुनुपर्छ भन्ने मान्यता राख्छौँ।

सबै विस्तृत पढ्नुहोस्