गतिशील पार्टीको घोषणापत्र (सारांश)
मङ्लबार, माघ ७, २०८२
गतिशील पार्टीको घोषणापत्र (सारांश)

गतिशील पार्टी किन?

गतिशील पार्टीको परिकल्पना दुई वर्ष अघि नै भएको थियो। २०८२ भदौ २३ र २४ गतेको घटनाक्रमले पार्टी गठन प्रक्रियालाई तीव्र बनाएको हो। ती दुई दिनमा भएका जनधनको क्षति दुःखद पक्ष हुन्। यसलाई सामान्य दुर्घटना मानेर हामी नियमित दिनचर्यामा फर्कन सक्दैनौँ। त्यसो गर्नु भनेको ती दुई दिनमा ज्यान गुमाउनेहरू र तिनका परिवारजनप्रति ठोर अपमान हुन जान्छ। शहीदको बलिदानप्रति कृतघ्नता हुन जान्छ। त्यसकारण जनता र राष्ट्रप्रति सचेत तथा चिन्तनशील नागरिक सामु आएको ऐतिहासिक जिम्मेवारीबाट पन्छिनु हुँदैन।

यसलाई लोकतन्त्र उन्नत बनाउने समयको मागका रूपमा बुझ्नुपर्छ। लोकतन्त्रलाई सुदृढ बनाउन सकियो भने, राजनीतिक संस्कार र शैलीलाई सुधार गर्न सकियो भने ती योद्धाहरूको सच्चा सम्मान हुनेछ। दुई दिनका घटनाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा आमूल परिवर्तन गरिनुपर्ने आवश्यकतालाई औँल्याएको छ।

आमूल परिवर्तनको यही आवश्यकतालाई मनन गरी गतिशील लोकतान्त्रिक पार्टी (छोटो रूपमा गतिशील पार्टी) गठन भएको हो। इतिहासको यो नयाँ अध्यायले आह्वान गरेको जिम्मेवारी वहन गर्न हामी अग्रसर भएका छौँ। मुलुकलाई गतिशील बनाउन लोकतन्त्र गतिशील हुनुपर्छ भन्ने हाम्रो ठम्याइ छ। गतिशील लोकतन्त्रको पैरवीमार्फत हामीले नेपाललाई एउटा पछौटे मुलुकको श्रेणीबाट उठाएर समृद्धिको शिखरमा पुर्‍याउने अठोट गरेका छौँ।

समृद्ध, समतामूलक र स्वाभिमानी नेपाल निर्माणको अभियानमा अघि बढेका छौँ। गतिशील देश निर्माणको यो अभियानमा प्रत्येक जिम्मेवार, चेतनशील र देशप्रेमी नागरिकले हातेमालो गर्छन् भन्ने हाम्रो दृढ विश्वास छ।
हामी गतिशील लोकतन्त्रका लागि अघि सरेका छौँ।

हामी समृद्ध समाज निर्माणका लागि अघि सरेका छौँ।
हामी राजनीतिमा असल संस्कार स्थापना गर्न अघि सरेका छौँ।

सबै सारांश पढ्नुहोस्