बुद्ध एयरमार्फत आन्तरिक उडानमा सफल व्यवस्थापन गरिसकेका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत जेन-जी आन्दोलनपछिको बदलिँदो परिस्थितिमा गतिशील लोकतान्त्रिक पार्टी नै खोलेर राजनीतिमा होमिएका छन्। सूचना–प्रविधिमा आधारित माध्यमिक शिक्षासँगै कृषि, पर्यटन र यातायातको विकासबाट नेपालमा दीर्घकालीन रोजगारी र उद्यमशीलता सिर्जना गर्न सकिन्छ भन्ने हिम्मतका साथ सेवाभावको राजनीति गर्ने उनको भनाइ छ।
काठमाडौँ — राजनीति असलमा सपनादेखि संघर्षसम्मको असाध्यै कठिन यात्रा हो । राजनीतिक रिले दौडमा अन्तिम पंक्तिका खेलाडीझैं मानिसलाई विस्मयमा पार्दै पार्टी राजनीतिमा होमिएका छन्– उद्यमी वीरेन्द्रबहादुर बस्नेत (६२) । साहस, आस्था, विचार र बलिदानको प्रतिमान खडा गरी तुफानी आँधीबेहरी सिर्जना गरेको जेन–जी आन्दोलनपछिको पर्यावरणमा अब हवाईसँगै राजनीतिक उडान पनि भर्नेछन्– वीरेन्द्रबहादुरले ।
र, यी सफल व्यवसायी आफ्नो जीवनको ‘दोस्रो इनिङ्स’ मा राजनीतिको ‘कखरा’ पढ्दै छन्— गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) मार्फत, जहाँ समाजशास्त्री दिनेश प्रसाईं, कलाकार निशा अधिकारीसहितका व्यक्तित्व छन् ।
बुद्ध एयरका संस्थापक प्रबन्ध निर्देशक र हालका कार्यकारी अध्यक्ष बस्नेत निर्वाचनसम्मुख दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’ का केन्द्रीय सदस्य हुन्, तर सिंगो पार्टी उनैको ‘आइडिया’ हो । अब उनीसँग छ– फुर्सद । र, अनुभव पनि— आकाशमा ३ दशकदेखि उडान भरिरहेको बुद्ध एयरजस्तो प्रतिष्ठित सफल व्यवसायको ।
‘व्यवस्थापनको कुशलता राजनीतिमा पनि प्रयोग गर्न सकिन्छ कि भन्ने लागेर राजनीतिमा आएँ’, छिट्टै दिन ढलिजाने चिसो एक मंसिरे साँझ वीरेन्द्र भन्छन्, ‘राजनीतिक दर्शनलाई नयाँ मोड दिन सक्छौं कि भन्ने आशा पनि छ ।’
जागिर जसले पनि खान सक्छ, व्यवसाय जसले पनि गर्न सक्छ । तर, सबै वीरेन्द्र हुँदैनन्— त्यहाँ त संघर्ष र इमानको लम्बेतान बाटो हिँड्नुपर्छ । राजनीति जसले पनि गर्न सक्छ, तर महक भाषा प्रयोग नगरिकन भन्नुपर्छ— असल राजनीतिज्ञको बाटो बडो कठिन हुन्छ (सायद जोखिमपूर्ण पनि) । त्यहाँ सामूहिक र बृहत्तर हित नै सपना र गन्तव्य हुन्छ । जान्नेहरू भन्छन्– त्यो मुकाम पुग्न असाध्यै कठिन छ । सहज बाटो हुँदै अफ्ठेरो बाटो रोजेका वीरेन्द्र आफ्ना सपनाहरूमाथि इमानदार रहिरहन सक्छन् ? यही प्रश्नले उनको राजनीतिक करिअर निर्माण गर्नेछ । किनभने राजनीति कहिल्यै मजाकको विषय होइन । तर, नेपालमा त राजनीति ‘चुट्किला’ बनेको छ । इन्द्रबहादुर राईले उहिल्यै लेखेझैं यहाँ राजनीति हो— एक रमिता, जसमा छ, सपनाको मुनाफामुखी व्यापार ।
पेसाले एक सफल नागरिक उड्डयन व्यवसायी अचानकै राजनीतिमा किन आए ? के जेन–जी आन्दोलनपछिको यो चिसो याममा राजनीतिमा पनि व्यवसायीको हस्तक्षेप जरुरी छ ? ‘खुसीकै लागि मानिसले यात्रा तय गर्छ’, काठमाडौंको हल्लाबीच शान्त देखिएका वीरेन्द्र भन्छन्, ‘नयाँ सोच, सिर्जनशीलता र इमानदारी यस्तो चिज हो, जसले मलाई खुसी दिन्छ । आजका दिनसम्म मैले गरेका कामहरूले म खुसी छु, पश्चातापको कुनै अंश मसँग छैन । मिहिनेत, दुःखले यहाँसम्म आइपुगेको छु । त्यसैले राजनीति प्रवेश पनि आफ्नै खुसीका लागि हो ।’
वीरेन्द्रका दुई कम्पनी छन्– बुद्ध एयर र मोरङको आरजु राइस मिल । यी दुवै उद्योगले अहोरात्र योगदान गरेका छन्– देशको अर्थतन्त्रमा । बुद्ध एयरले आन्तरिक हवाई उड्डयनलाई चलायमान बनाएको छ भने राइस मिलले नेपालको कृषि अर्थतन्त्र सुधार्ने सपना बोकेको छ । भन्छन्, ‘यी उद्योगको प्रतिफलले मेरो जीवन सहज छ ।’