गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो
बिहिबार, पुस १०, २०८२
गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

२०८२ मंसिर २६ (नेपाल सम्वत ११४६, थिंलागा)

गतिशील लोकतान्त्रिक पार्टीले यही फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सहयात्राको निम्तो बाँडेको छ । उक्त निम्तो बमोजिम पहिलो निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणाली मार्फत उम्मेदवार हुन चाहने योग्य इमानदार, जनमुखी र परिवर्तनशील सोच भएका नेपाली नागरिकहरूबाट उम्मेदवारी आवेदन आह्वान गरेको छ ।

पार्टीको सिद्धान्त, नीति तथा घोषणापत्रप्रति प्रतिबद्ध व्यक्तिहरूलाई समानुपातिक प्रणाली तर्फका उम्मेदवारलाई यही पुष १० गते तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ यही माघ २ गतेभित्र उम्मेदवारी विवरण पेश गर्न पार्टीले आग्रह गरेको छ । 

परिवर्तनमा विश्वास गर्ने नेतृ्त्व देशलाई आवश्यक भएको महसुस गर्दै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ स्थानीय समुदायमा सकारात्मक पहिचान र सक्रियता भएको; सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध स्पष्ट प्रतिबद्धता व्यक्त गरी त्यसको कार्यान्वयन पनि गरेको; नागरिकका समस्यासँग जोडिने क्षमता र समाधानको योजना प्रस्ट भएको;  प्रभावकारी संवाद, जनसंगठन नेतृत्व र स्वच्छ छवि भएको; युवा, महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, पिछडिएको समुदायबाट आएका आवेदनलाई प्राथमिकता दिने गरी पार्टील‍े सहकार्यको मापदण्ड तोेकेको छ । 

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ नीति निर्माण, सामाजिक न्याय, समावेशिता र विकासका विषयमा ज्ञान भएको; राष्ट्रिय स्तरमा योगदान दिन सक्ने क्षमताले युक्त; युवा, महिला, दलित तथा अन्य प्रतिनिधित्व आवश्यक समूहहरूको उपस्थितिलाई प्राथमिकता दिने; तथा भ्रष्टाचारमुक्त, जिम्मेवार, र मूल्य–आधारित सार्वजनिक छवि भएका व्यक्तिहरूलाई पार्टीले प्राथमिकतामा राख्ने भएको छ । दुवै प्रणालीतर्फ निर्वाचन कानुनले योग्य ठहर्‍याएका तथा नैतिकवान् व्यक्तिहरूबाट प्राप्त सहकार्यको प्रस्तावलाई स्वीकारिने पार्टीले जनाएको छ । 

पार्टीको वेबसाइटमा आवेदन दिनका लागि फारम भर्ने लिंक तथा फारम राखिएको छ । उक्त लिंक तथा फारमबाट आफ्ना विवरणहरू उल्लेख गरी फारमको हकमा [email protected] मा इमेल गर्न सकिन्छ ।

गतिशील लोकतान्त्रिक पार्टी, लोकतन्त्रलाई अझ सहभागितामूलक र अर्थपूर्ण बनाउन स्थापना भएको गतिशील मध्यमार्गी पार्टी हो । संवृद्धि, समता र स्वभिमान पार्टीका राष्ट्रिय लक्ष्य हुन् । “सुशासन, उद्यमशीलता, समता: वडा – वडामा दिगो रोजगारी हाम्रो प्रतिबद्धता !” पार्टीको मूल राजनीतिक एजेण्डा हो । गतिशील पार्टीले कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य तथा ऊर्जालाई रोजगारी सिर्जना र आर्थिक रूपान्तरणका प्राथमिकताका क्षेत्रहरू मानेको छ । संघीयता, धर्म निरपेक्षता, समावेशी व्यवस्था, संसदीय प्रणाली, गणतन्त्र जस्ता नेपालको संविधान २०७२ का मूलभूत सिद्धान्त तथा संरचनाहरूप्रति गतिशील पार्टी प्रतिबद्ध छ । पार्टीले लोकतन्त्रलाई अझ व्यावहारिक, प्रभावकारी र मितव्ययी बनाउन आवश्यक परेमा संविधान संशोधन गर्न सकिने विश्वास गर्दछ । 

पियुष कायस्थ

महासचिव (संगठन)

गतिशील लोकतान्त्रिक पार्टी

९७४३९६८२०३ (कार्यालय नम्बर)