आधिकारिक घोषणाहरू: सुशासन र पारदर्शिताको प्रतिवद्धता
आइतवार, पुस ६, २०८२
आधिकारिक घोषणाहरू: सुशासन र पारदर्शिताको प्रतिवद्धता

गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा विधिवत दर्ता भएपछि जारी गरेको पहिलो प्रेस विज्ञप्तिमा सुशासन र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति स्पष्ट पारेको छ। पार्टीले राज्यका हरेक संयन्त्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने संकल्प गरेको छ। विज्ञप्तिमा उल्लेख भए अनुसार, पार्टीले आगामी निर्वाचनमा २० प्रतिशतभन्दा कम मत प्राप्त गरेमा सरकारमा सहभागी नभई प्रतिपक्षमा बसेर जनताको खबरदारी गर्नेछ।

पार्टीले उम्मेदवार चयनका लागि ‘सफ्टवेयरमा आधारित योग्यता प्रणाली’ (Meritocracy) लागू हुने सूचना सार्वजनिक गरेको छ। यस अनुसार, अब कसैले पनि नेताको आशीर्वादको भरमा टिकट पाउने छैन। इच्छुक उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यता, सामाजिक योगदान र विकासको कार्ययोजना सहित अनलाइन आवेदन दिनुपर्नेछ। यो सूचनाले राजनीतिमा लाग्न चाहने इमानदार र शिक्षित युवाहरूका लागि ढोका खोलेको छ।

प्रेस विज्ञप्ति मार्फत पार्टीले नेपाल वायुसेवा निगमको पुनर्संरचना र ५० वटा जहाजको योजनाबारे थप स्पष्ट पारेको छ। यसमा सार्वजनिक-निजी साझेदारी (PPP) मोडल अपनाइने र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। यसका लागि आवश्यक पर्ने २१ खर्बको लगानी र आर्थिक स्रोतको सुनिश्चितताका लागि पार्टीले विस्तृत अध्ययन प्रतिवेदन समेत सार्वजनिक गर्ने तयारी गरेको छ।