२०८२ मंसिर २६ (नेपाल सम्वत ११४६, थिंलागा)
गतिशील लोकतान्त्रिक पार्टीले यही फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सहयात्राको निम्तो बाँडेको छ । उक्त निम्तो बमोजिम पहिलो निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणाली मार्फत उम्मेदवार हुन चाहने योग्य इमानदार, जनमुखी र परिवर्तनशील सोच भएका नेपाली नागरिकहरूबाट उम्मेदवारी आवेदन आह्वान गरेको छ ।
पार्टीको सिद्धान्त, नीति तथा घोषणापत्रप्रति प्रतिबद्ध व्यक्तिहरूलाई समानुपातिक प्रणाली तर्फका उम्मेदवारलाई यही पुष १० गते तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ यही माघ २ गतेभित्र उम्मेदवारी विवरण पेश गर्न पार्टीले आग्रह गरेको छ ।
परिवर्तनमा विश्वास गर्ने नेतृ्त्व देशलाई आवश्यक भएको महसुस गर्दै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ स्थानीय समुदायमा सकारात्मक पहिचान र सक्रियता भएको; सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध स्पष्ट प्रतिबद्धता व्यक्त गरी त्यसको कार्यान्वयन पनि गरेको; नागरिकका समस्यासँग जोडिने क्षमता र समाधानको योजना प्रस्ट भएको; प्रभावकारी संवाद, जनसंगठन नेतृत्व र स्वच्छ छवि भएको; युवा, महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, पिछडिएको समुदायबाट आएका आवेदनलाई प्राथमिकता दिने गरी पार्टीले सहकार्यको मापदण्ड तोेकेको छ ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ नीति निर्माण, सामाजिक न्याय, समावेशिता र विकासका विषयमा ज्ञान भएको; राष्ट्रिय स्तरमा योगदान दिन सक्ने क्षमताले युक्त; युवा, महिला, दलित तथा अन्य प्रतिनिधित्व आवश्यक समूहहरूको उपस्थितिलाई प्राथमिकता दिने; तथा भ्रष्टाचारमुक्त, जिम्मेवार, र मूल्य–आधारित सार्वजनिक छवि भएका व्यक्तिहरूलाई पार्टीले प्राथमिकतामा राख्ने भएको छ । दुवै प्रणालीतर्फ निर्वाचन कानुनले योग्य ठहर्याएका तथा नैतिकवान् व्यक्तिहरूबाट प्राप्त सहकार्यको प्रस्तावलाई स्वीकारिने पार्टीले जनाएको छ ।
पार्टीको वेबसाइटमा आवेदन दिनका लागि फारम भर्ने लिंक तथा फारम राखिएको छ । उक्त लिंक तथा फारमबाट आफ्ना विवरणहरू उल्लेख गरी फारमको हकमा [email protected] मा इमेल गर्न सकिन्छ ।
गतिशील लोकतान्त्रिक पार्टी, लोकतन्त्रलाई अझ सहभागितामूलक र अर्थपूर्ण बनाउन स्थापना भएको गतिशील मध्यमार्गी पार्टी हो । संवृद्धि, समता र स्वभिमान पार्टीका राष्ट्रिय लक्ष्य हुन् । “सुशासन, उद्यमशीलता, समता: वडा – वडामा दिगो रोजगारी हाम्रो प्रतिबद्धता !” पार्टीको मूल राजनीतिक एजेण्डा हो । गतिशील पार्टीले कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य तथा ऊर्जालाई रोजगारी सिर्जना र आर्थिक रूपान्तरणका प्राथमिकताका क्षेत्रहरू मानेको छ । संघीयता, धर्म निरपेक्षता, समावेशी व्यवस्था, संसदीय प्रणाली, गणतन्त्र जस्ता नेपालको संविधान २०७२ का मूलभूत सिद्धान्त तथा संरचनाहरूप्रति गतिशील पार्टी प्रतिबद्ध छ । पार्टीले लोकतन्त्रलाई अझ व्यावहारिक, प्रभावकारी र मितव्ययी बनाउन आवश्यक परेमा संविधान संशोधन गर्न सकिने विश्वास गर्दछ ।
पियुष कायस्थ
महासचिव (संगठन)
गतिशील लोकतान्त्रिक पार्टी
९७४३९६८२०३ (कार्यालय नम्बर)